Skip to content
My Perspective
Go back

THE LUCIFER EFFECT

Written by Keshav Rijal

The Lucifer Effect

(असल मानिस कसरी खराब बन्छन् ? राम्रो मानिस कसरी अपराधी बन्छन्? How good people turn into evil?)

Philip Zimbardo को प्रख्यात पुष्तकः THE LUCIFER EFFECT How good people turn into evil मा लेखकले राम्रा मानिसहरु कसरी खराब बन्छन् भन्नेकुरा खोज्ने प्रयास गरेको पाइन्छ।

लुसिफर को हुन् ?

लुसिफर ईसाई परम्परामा भगवानको सबैभन्दा सुन्दर र शक्तिशाली स्वर्गदूत मानिन्छन्। उनी भगवानको सबैभन्दा नजिक र प्रिय स्वर्गदूत थिए। तर घमण्ड र विद्रोहका कारण उनी स्वर्गबाट पतन भए। यसै पतनपछि उनी शैतान (Satan) को रूपमा असल भन्दा खराबको प्रतीक बने। यही प्रसङ्गबाट फिलिप जिम्बार्डोले आफ्नो पुस्तकको नाम “The Lucifer Effect” मा “Lucifer” लाई एउटा रूपक (metaphor) का रूपमा प्रयोग गरेका हुन्। एक असल मानिस कसरी खराब हुन सक्छ भन्ने कुरालाई जिम्बार्डोले lucifer effect भन्न खोजेका हुन्।

Stanford Prison Experiment

असल मानिसहरु कसरी खराब बन्छन् भन्ने कुराको अध्ययन गर्नकालागि जिम्बार्डोले Stanford Prison Experiment गरेका थिए।

स्टानफोर्ड कारागार प्रयोग (Stanford Prison Experiment) सन् १९७१ मा स्टानफोर्ड विश्वविद्यालयका मनोवैज्ञानिक फिलिप जी. जिम्बार्डो द्वारा सञ्चालन गरिएको मनोवैज्ञानिक अनुसन्धान हो।  यस प्रयोगको उद्देश्य सामान्य मानिसलाई कारागारका गार्ड (प्रहरी)कैदी को भूमिका दिँदा उनीहरूको व्यवहारमा कस्तो परिवर्तन आउँछ भन्ने अध्ययन गर्नु थियो। यसका लागि मानसिक तथा शारीरिक रूपमा स्वस्थ २४ जना पुरुष विद्यार्थी छनोट गरी अनियमित रूपमा दुई समूहमा विभाजन गरिएको थियो। विश्वविद्यालयको बेसमेन्टमा कृत्रिम कारागार निर्माण गरी कैदीको भूमिका पाएका विद्यार्थीहरूलाई वास्तविक पक्राउ जस्तै प्रक्रिया अपनाएर कारागारमा राखियो भने गार्डहरूलाई कारागारको अनुशासन कायम राख्ने जिम्मेवारी दिइएको थियो। प्रयोग १४ दिनसम्म सञ्चालन गर्ने योजना भए पनि सहभागीहरूमा देखिएको गम्भीर मानसिक तथा व्यवहारगत परिवर्तनका कारण  त्यसलाई केवल छ दिनमै अन्त्य गर्नुपरेको थियो।

Stanford Prison Experiment ले के देखायो ?

१. चरित्र होइन, परिस्थितिले व्यवहार निर्धारण गर्छ सामान्य, स्वस्थ र नैतिक रूपमा असल विद्यार्थीहरू पनि जब “गार्ड” को शक्तिशाली भूमिकामा राखिए, केही दिनभित्रै क्रूर बने। यसले के देखायो भने मानिस स्वभावैले खराब भएर होइन, बरु परिस्थिति र भूमिकाले नै मानिसलाई क्रूर बनाउन सक्छ।

२. भूमिका (Role) ले पहिचान (Identity) लाई ओगट्छ जब मानिसलाई कुनै विशेष भूमिका (गार्ड, कैदी) दिइन्छ र त्यो भूमिकाअनुसार व्यवहार गर्ने अपेक्षा गरिन्छ, धेरैजसो मानिसहरू आफ्नो व्यक्तिगत मूल्य-मान्यता बिर्सेर त्यही भूमिकाअनुसार ढल्दै जान्छन्।

३. गुमनामी (Deindividuation) ले क्रूरतालाई सजिलो बनाउँछ गार्डहरूलाई गगल्स(कालो चस्मा) र वर्दी दिइएको थियो, जसले उनीहरूको व्यक्तिगत पहिचान लुकायो। पहिचान लुक्दा जिम्मेवारीको भाव पनि घट्छ, र मानिस साधारण अवस्थामा नगर्ने कुरा पनि गर्न सक्छ।

४. शक्ति (Power) ले द्रुत रूपमा दुरुपयोगमा बदलिन सक्छ गार्डहरूलाई दिइएको सानो अधिकार पनि छिट्टै कैदीहरूमाथि अपमान र दमनमा परिणत भयो — शक्तिको उपस्थितिले आफैं व्यवहार बदल्न सक्छ भन्ने देखियो।

५. अख्तियार (Authority) को उपस्थितिले नैतिकता कमजोर बनाउँछ जिम्बार्डो आफैं “जेल सुपरिटेन्डेन्ट” को भूमिकामा थिए, जसले प्रयोगलाई वैधता दियो। यसले के देखायो भने कुनै संस्था वा अख्तियारले स्वीकृति दिँदा मानिसहरू आफ्नो अन्तर्निहित नैतिक सीमा बिर्सन थाल्छन्।

६. क्रमिक वृद्धि (Escalation) खतरनाक हुन्छ सुरुमा साना-साना कठोर व्यवहारहरूले बिस्तारै ठूला र क्रूर व्यवहारहरूको बाटो खोल्यो जसलाई “foot-in-the-door” प्रभाव पनि भनिन्छ।

७. प्रणाली (System) नै वास्तविक जड कारण हो व्यक्ति र परिस्थितिभन्दा माथि, त्यो परिस्थिति सिर्जना गर्ने र स्वीकृति दिने प्रणाली (यहाँ त जिम्बार्डो आफैं र प्रयोगको संरचना) नै वास्तविक जिम्मेवार हो भन्ने निष्कर्ष निकालियो।

सारमा: यो Stanford Prison Experiment को मूल मर्म भनेको — “असल मानिस पनि खराब परिस्थितिमा पर्दा खराब बन्न सक्छन्, र यो कुनै दुर्लभ अपवाद होइन, बरु मानव मनोविज्ञानको सामान्य प्रवृत्ति हो।” यही निष्कर्षले नै जिम्बार्डोको पुस्तक The Lucifer Effect को आधार बनायो ।

आलोचना

स्टानफोर्ड कारागार प्रयोग आज पनि अत्यन्त प्रभावशाली मानिए पनि यसको वैज्ञानिक विश्वसनीयतामाथि धेरै प्रश्न उठाइएको पाइन्छ।  कतिपय अनुसन्धानकर्ताहरूका अनुसार केही गार्डहरूलाई कठोर व्यवहार गर्न अप्रत्यक्ष रूपमा प्रेरित गरिएको थियो, जसले प्रयोगको निष्पक्षतालाई प्रभावित गरेको हुन सक्छ।  त्यस्तै, सहभागीहरूको संख्या कम हुनु, कृत्रिम वातावरण हुनु तथा अन्य अनुसन्धानहरूले समान नतिजा दोहोर्याउन नसक्नु पनि यस प्रयोगका कमजोरीका रूपमा उल्लेख गरिन्छ। यस कारण आज धेरै मनोवैज्ञानिकहरूले यसलाई अन्तिम वैज्ञानिक प्रमाणभन्दा बढी ऐतिहासिक तथा शिक्षाप्रद अध्ययन (Case Study) का रूपमा लिने गरेको समेत पाइन्छ।


Share this post:

Previous Post
Issues of AI
Next Post
I want a Wife